माधव र झलनाथबीच एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउने सहमति

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २७ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउने भद्र सहमति भएको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा अरु नेताहरुसहित भएको छलफलमा एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउन नेपाल र खनाल सहमत भएका हुन् ।

‘पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्छ, त्यही कुरा भएको हो’ वरिष्ठ नेता वेदुराम भुसालले सुनाए । पूर्व प्रधानमन्त्रीहरु नेपाल र खनालले एकअर्कालाई पार्टी छोडेर जानसम्म भनेका थिए । नेता खनालले चार वर्षसम्म विद्रोह पुष्टि हुन नसकेको अन्तर्वार्ता दिएपछि नेपालले पार्टीबाट बिदा हुन सुझाव दिएका थिए ।

नेपालले सार्वजनिक रुपमै पार्टी छोडेर एमालेको सेवा गर्न भनेपछि खनालले पनि चर्को अभिव्यक्ति दिएका थिए । अहिलेसम्म जबज भनिरहेका माधव नेपाललाई बरु आफै एमालेमा जान सुझाव दिएका थिए ।

यसरी एकअर्काविरुद्ध आक्षेप लगाउने क्रम बढेर गएपछि नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालले माधव र झलनाथलाई छलफलमा राखिरहेका छन् ।

यस्तै छलफल शनिबार बिहान पनि भएको थियो । तर माधव नेपाल जनकपुर जानुपर्ने भएकाले स्थगित छलफल सोमबार भयो । यो छलफलमा अध्यक्ष नेपालले खनाललाई अन्तर्वार्ता दिने भन्दा पनि राख्नुपर्ने कुरा बैठकमै उठाउन आग्रह गरेका थिए । ‘अन्तर्वार्ता दिँदै हिँड्दा कुरा झन् बिग्रने भयो, जे भन्नुछ पार्टीको बैठकमै भन्नुस्’ माधवको आग्रह थियो ।

सार्वजनिक अभिव्यक्ति नदिनेमा खनाल सहमत भएको बैठक स्रोत जानकारी दिएको छ । ‘आफ्नो प्रस्तावमा बैठकमै छलफल हुने भएपछि सार्वजनिक रुपमा नबोल्न झलनाथ खनाल पनि सहमत हुनुभएको छ’ स्रोतले भन्यो ।

माधव नेपाललाई पतञ्जली जग्गा हिनामिना सम्बन्धी मुद्दा लागेकाले अध्यक्ष पद छोड्नुपर्ने खनालले प्रस्ताव राखेका छन् । असार तेस्रो साता खनालले बैठकमा राखेको प्रस्तावबारे माधव नेपाल असन्तुष्ट छन् । तर अब आगामी बैठकमा यो विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एकीकृत समाजवादीको ३० साउनमा सचिवालय बैठक बस्दैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर