कारागार अनुमगनपछि मानवअधिकार आयोगले भन्यो, ‘रवि लामिछानेको मानवअधिकार हनन भएको छ’

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २६।    रुपन्देहीको भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ ।

सोमबार कारागारको अनुगमनपछि आयोगले लामिछानेलाई न्यूनतम मानवीय सुविधा नदिएर उनको मानवअधिकार हनन गरिएको अनुगमनका क्रममा पाइएको बताएको हो ।

अनुगमनपछि आयोगकी प्रवक्ता लिली थापाले रविलाई राखिएको थुनुवा कक्षको झ्याल थुनिएको र राम्ररी हावापास हुने अवस्था समेत नरहेको बताइन् । यसअघि रवि पक्षधरले रविलाई दयनीय अवस्थामा जेलमा राखिएको दावी गरेका थिए भने उनका विरोधीले रविले जेलमा भीआइपीको सुविधा लिइरहेको उनको कक्षमा एसीसहितको सुविधा रहेको दाबी गरेका थिए ।

रविको मानवअधिकार हनन गरिएको र उनले सुविधा लिएको भन्ने परस्पर विरोधाभासपूर्ण तर्कहरु सामाजिक संजालसहित संचारमाध्यममा समेत आएपछि आयोग आफैं कारागारको अनुगमन गर्न अग्रसर भएको थियो । अनुगमनपछि मानवअधिकार आयोगले रविको मानवअधिकार हनन गरिएको तर्कलाई पुष्टि गरेको छ ।

आयोगले रविको कक्षमा एसी जडान नगरिएको पुष्टि गरेको छ । आयोगका अनुसार उनको कक्षमा दुईवटा पंखा भने छन् । जेल प्रशासनले सुरक्षाको लागि रविको कक्षको झ्याल थुनिएको आयोगलाई बताएको थियो । आयोगले झ्याल खोल्न आग्रह गरेपछि जेल प्रशासन झ्याल खोल्न तयार भएको प्रवक्ता थापाले बताइन् ।

अदालतले अनुमति दिइसक्दा पनि कारागार प्रशासनले जेल स्थानान्तरणको अनुमति नदिएकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हामीले कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौं’ प्रवक्ता थापाले भनिन् । थापाले रविलाई सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिँडडुल गर्न नदिएर मानवअधिकार हनन गरिएको बताइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर