तारे होटलमा तात्तातो कोदोको सेल !

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २६।  नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ-किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो।

कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन्।

पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ–किचनमार्फत प्रस्तुत गरेको छ।

पाँचतारे होटलको दर्जामा रहेको सो रिसोर्टले प्रस्तुत गरेका दर्जनौ परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो। ग्राहककै अगाडि तयार बासनादार सेलरोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो।

रिसोर्टको डाइनिङ हल नै सेलरोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए। कोदोको सेलरोटी नौलो लागेर सोधपुछ गरेका उनीहरुले पछि भने रोटी थपी–थपी खाएका थिए।

रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेलरोटी प्याक गरेरै घर लैजान इच्छा देखाएका थिए। नेपाली परिकारको छुट्टै लाइभ–किचन रहेको स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो।

नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो। नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पु-याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मुतरूप दिएको हो । उहाँको टोलीमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र संगम मोक्तानले सघाएका थिए।

विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरु बताउँछन्।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउँछन्। “नेपाली रैथाने खाना संरक्षण र प्रवर्द्धनसँगै यसको व्यवसायिकतालाई पनि जोड्नुपर्छ”, अध्यक्ष शाहले भने, “नेपाली खानाको धेरै माग छ। ठूला तारे होटलमा नेपाली मेन्यू आवश्यक छ।”

अध्यक्ष शाहका अनुसार हानको ६०औं वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ। नेपाली पर्यटकको चहल पहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए। “नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो”, संयोजक सापकोटाले भने।

तपाईंको प्रतिक्रिया

थप खबर