एनआरएनए जर्मनीको नेतृत्वमा लोकमणि ढकाल र सनत कुमार गौतम विजयी

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २६।  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनत कुमार गौतम बिजयी भएका छन्।

लामो तयारी र मतदाताको उच्च चासोबीच आईतबार भएको निर्वाचनमा अध्यक्ष पदमा लोकमणी ढकालले ४५८ मध्ये २९२ मत (६१.७%) प्राप्त गर्दै जित हासिल गरेका हुन् भने उनका प्रतिद्वन्दी ज्योती राईले १६६ मत (३५.१%) प्राप्त गर्दै उपविजेतामा सिमित रहे । महासचिवमा भने ४ सय ४८ मतको गणनामा गौतमले २७३ मत (५७.७%) ल्याउँदै १७५ मत (३७.०%) प्राप्त गर्ने लोकेन्द्र सावाँलाई पछि पारे।

यसपटकको निर्वाचन सेमी अनलाइन प्रणालीमार्फत सम्पन्न भएको थियो । आईटि विशेषज्ञ एवम् एनआरएनए अभियन्ता डा. नवराज रोस्याराले यो निर्वाचन प्रविधीको विकास गरेका हुन् । मतदान बिहान ८ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्म चलेको थियो । जसको प्रत्यक्ष निगरानीका लागि बर्लिनको “बुद्ध हाउस” र फ्रैंकफर्टको “होटल होष्टर होफ”मा भौतिक मतदान केन्द्र पनि स्थापना गरिएका थिए।

अनलाइन प्रणाली आठ चरणमा सम्पन्न भएको थियो । इमेलमार्फत लग–इन विवरण प्राप्त गर्ने, निर्वाचन पोर्टलमा प्रवेश गर्ने, परिचय प्रमाणिकरण, पहुँच कोड लिने, प्रणाली अनलक गर्ने, अध्यक्ष र महासचिव दुवैका लागि अलग-अलग मतदान गर्ने, अन्तिम पहुँच कोड सुरक्षित राख्ने र नतिजा हेर्ने गरि प्रविधीको विकास गकिएको थियो । निर्वाचन परिणाम बेलुकी ८ बजे एनआरएनए जर्मनीको फेसबुक पेज र जुममार्फत प्रत्यक्ष प्रसारण गरियो।

लोकमणी ढकाल लामो समयदेखि एनआरएनए जर्मनीमा सक्रिय छन् । LCC हेसेनको संयोजक, एनसीसी महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै यसपटक अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

उनले आफ्नो अभियानमा “सबल, पारदर्शी, समावेशी र युवा सहितको उत्कृष्ट एवं गतिशील एनआरएनए”को नारासहित संस्थागत सुधार, आपतकालीन कोष स्थापना, LCC सशक्तिकरण र युवाको सहभागिता वृद्धि गर्ने प्रतिवद्धता जनाएका छन्।

महासचिव विजयी सनत कुमार गौतम एमाले निकट प्रवासी कमिटीमा लामो समय सक्रिय रहेका, प्रशासनिक दक्षता र संगठनात्मक प्रतिबद्धताका कारण चिनिएका उम्मेदवार हुन्। उनी अघिल्लो नेतृत्व संरचनामा प्रत्यक्ष संलग्न नभए पनि यसपटक बलियो मतका साथ प्रवेश गरेका छन्।

अध्यक्षमा प्रारम्भिक रूपमा लोकमणी ढकाल, ज्योति राई, कृष्ण देवकोटा र युवराज अधिकारीको नाम आएको थियो। तर कृष्ण देवकोटा र युवराज अधिकारीले ढकाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि अन्तिम प्रतिस्पर्धा ढकाल र राईबीच भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर