मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २८ । संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन भएको छ।
सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकमा कुरा मिल्न नसकेको हो।
प्रतिपक्षीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखिरहेका छन्।
विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्न समिति गठन हुनुपर्ने सदनमा अवरोध गरिरहेका छन्। वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्।
आइतबारको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर, विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र विरोध जारी राखे। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरे पनि परिणाम आउन सकेको छैन।
आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा कांग्रेसको प्रस्तावअनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका छन्। यद्यपि, सहमति जुट्न भने सकेन।
यसैबीच विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ। सँगै रास्वपाले अघि सारेको ५ बुँदे प्रस्तावमा माओवादीलगायतका विपक्षी दलले साथ दिएका छन्।