मिडियाबाजी डटकम काठमाडौँ, साउन २५। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण करिब करिब निश्चित जस्तै भएपछि भदौ १ मा भारतीय विदेश सचिव नेपाल आउने भएका छन्।
भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने भए कार्यक्रम तय भएपनि परराष्ट्र मन्त्रालयले औपचारिक मिति तय भैनसकेको जनाएको छ। ‘भारतीय विदेश सचिव नेपाल आउने निश्चित भएको छ तर मिति तय भएको छैन,’ परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय समकक्षी नरेन्द्र मोदीको निम्ता लिएर विदेश सचिव नेपाल आउन लागेका हुन्। एक वर्षकोबीचमा उनको यो दोस्रो नेपाल भ्रमण हो। स्रोतका अनुसार आउदो भदौ ३१ बाट भारत भ्रमण हुँदैछ।
दुईदिने कार्यक्रम रहेपनि भारतीय पक्षले १ दिन लम्ब्याउन आग्रह गरेको स्रोतको दावी छ। ‘प्रधानमन्त्री केपी ओली भदौ ३१ भारत जाने र १ गते साँझ नेपाल फर्कने कार्यक्रम थियो, थप एक दिन लम्बिनपनि सक्छ’,प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।
भारत भ्रमणको कार्यसूची दुवै देशले एकसाता अघि प्रकाशन गर्ने भएपनि नेपालमा यसको हल्ला भैसकेको छ। परराष्ट्र, गृह, अर्थ, उद्योग र वाणिज्यजस्ता महत्वपूर्ण मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला तयार पार्ने विविध एजेण्डाबारे छलफल गरिरहेका छन्।
प्रधानमन्त्री भ्रमणको करिब दुई महिना अघि भारतले दिल्लीमा गृहसचिवस्तरीय बैठक राख्यो। ९ वर्षदेखि बस्न नसकेको गृहसचिवस्तरी बैठक साउनको ६ र ७ गते भारतको नयाँ दिल्लीमा सम्पन्न भयो। सो बैठकले नेपाल-भारत सुपुर्दगी सन्धीलाई पुनरावलोकन गर्ने महत्वपूर्ण निर्णय गर्याे।