मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २७ । चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेको हो । २०८१ असारमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो ।
यस्तै, अमेरिकी डलर सञ्चिति २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर थियो ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत छ । आर्थिक वर्ष २०८१र८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
वैशाख मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४१.१ प्रतिशत, कुल आयात१२१.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगका अनुपात ३३.८ प्रतिशत रहेको छ ।