चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५।  काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ ओटा स्कुटर र १० ओटा मोटरसाइकल सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा,सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका २२ ओटा सहित ४ सय ६७ ओटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ४४ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ६६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर