मिडियाबाजी डटकम काठमाडौँ भाद्र २२ । शुक्रबार फेसबुक लगायतका २६ सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाएको विषय कांग्रेसभित्र विवादित बनेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकार रहेको कांग्रेस नेतृत्वले पार्टीभित्र छलफल नगरेको भन्दै महामन्त्री गगन थापाले असन्तुष्टि पोखेपछि उपस्थित अधिकांश नेताहरूले साथ दिएका थिए ।
महामन्त्री थापाले नेपालमा २ करोडभन्दा बढि प्रयोगकर्ता भएको सामाजिक सञ्जाल सरोकारवाला र जनताले चुनेका उनीहरूको जनप्रतिनिधिसँग सल्लाह समेत नगरी सरकारले प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन् ।
महामन्त्री थापाले संसदमा विचाराधीन विधेयकलाई बेवास्ता गरेर समाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको बताएका छन् । एक नेताका अनुसार महामन्त्री थापाले यस्तो निर्णय गर्दा पार्टीभित्र किन छलफल गरिएन भन्दै गुनासो गरेका थिए । ‘सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्छ, सरकारमा हाम्रो पार्टी पनि सहभागी छ। यस्तो विषयमा समयमै पार्टीभित्र कुनै छलफल र बहस किन गरिएन ?’ महामन्त्री थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय कार्यसम्पादन समिति सदस्यले भने ।
महामन्त्री थापाले सरकारले सामाजिक सञ्जाल बन्द गरेकै दिन धारणा सार्वजनिक गर्दै सरकार उल्टो बाटो हिँडेको र निर्णय पुनर्विचार गर्न माग राखेका थिए। थापापछि सहमहामन्त्री महेन्द्र यादव, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य बालकृष्ण खाणले पनि यसबारे कुरा राखेका थिए। उनीहरूले पनि सामाजिक सञ्जाल बन्द गर्न नहुनेमा जोड दिएका थिए।
कार्यसम्पादन समितिमा सबैको कुरा सुनिसकेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसहित नेताहरूलाई राखेर एक दुई दिनभित्रै छलफल गरी निचोडमा पुग्ने बताएका छन्।