मिडियाबाजी डटकम काठमाडौँ भाद्र २२ । सरकारले सामाजिक सञ्जालको प्रयोगमा लगाएको प्रतिबन्धसँगै जेनजी पुस्तामा व्यापक असन्तोष फैलिएको छ।
सामाजिक सञ्जालमा व्यक्त हुने अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पारेको भन्दै सरकारी कदमविरुद्ध क्याम्पेन सुरु गरेका छन् ।
सरकाले शुक्रबार फेसबुक, युट्युब २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि उनीहरू विचार र अभिव्यक्तिका स्वतन्त्रता र अधिकारको हनन भएको जेनजी पुस्ताले #WakeUpNepal नामक क्याम्पेन शुरु गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो विचार प्रकट गर्दै आएकोमा प्रतिबन्ध लगाएर सामाजिक सञ्जाललाई प्रतिबन्ध गरेको देखाउने तर जनतालाई तर्साउने काम गरेको उनीहरूको दाबी छ । सामाजिक सञ्जाललाई देखाएर जनताको मुख थुन्ने काम गरिएको हुँदा क्याम्पेन चलाइएको उल्लेख गरेका छन् ।
यस क्याम्पेनले नेपालमा डिजिटल प्लेटफर्मको आवश्यकता र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्न माग उठाएको छ । जेनजी पुस्ताको क्यामपेनको समर्थन गर्दै रुटिन अफ नेपालका सञ्चालक भिक्टर पौडेलले समर्थन गर्दै प्रतिबन्ध सरकारले तत्काल फिर्ता नगरेमा उनीहरू सडकमा आउनसक्ने आँकलन गरेका छन् ।
पछिल्लो समय धेरै युवाहरूको व्यावसाय नै सामाजिक सञ्जाल थियो । सरकारको कदमले कन्टेन्ट क्रियटरहरुको काम ठप्प भएको छ । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा देश र समाजलाई पर्ने घाटा कति छ, त्यसको आकलन हुन जरूरी थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा ९ महिनामा फेसबुक र युट्युबजस्ता प्लेटफर्महरूबाट २ अर्ब ५३ करोडको आम्दानी भएको थियो ।
सामाजिक सञ्जाल बन्द गर्दाको घाटा हेर्न टिकटक प्रतिबन्धको घाटा हेर्नुपर्छ । त्यतिबेला ब्यान्डविथ आयात बढ्दा मुलुकले एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी गुमाउनु परेको थियो भने डेटा खपत घट्दा टेलिकम र इन्टरनेटक कम्पनीलाई करिब ५ अर्ब घाटा भएको थियो ।