मिडियाबाजी डटकम काठमाडौँ, साउन २२। प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् ।
प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् । गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ । ‘उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिनु भएको रहेछ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले भने ।
घरायसी कारण देखाए पनि अचानक राजीनामा दिनुले प्रश्न उब्जाएको छ । स्रोतका अनुसार उनी विदेश जान लागेको बताइएको छ । अवकाशमा जानु अघि नै विदेश जाने टिकट समेत तयार भइसकेकाले राजीनामा दिएको हुनसक्ने आशंका गरिएको छ । भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका थापा अहिले प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन् ।
प्रहरी नायव उपरीक्षक पदमा बढुवा गर्न इन्स्पेक्टर राजु अधिकारीलाई सिफारिस गरिएको छ । तनहुँस्थित इलाका प्रहरी कार्यालय साराङघाटमा कार्यरत अधिकारी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा थिए । उनी अनुसन्धानमा काविल अधिकृतको रूपमा चिनिएका थिए ।