घानामा हेलिकप्टर दुर्घटना : दुई मन्त्रीसहित आठ जनाको मृत्यु

  श्रावण २३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन २२।   अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ ।

घाना सरकारले दुर्घटनालाई ‘राष्ट्रिय त्रासदी’ भनेको छ ।

दुर्घटनामा घानाका कार्यवाहक उप–राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेको पनि मृत्यु भएको थियो ।

हेलिकप्टरमा जम्मा पाँच यात्रु र तीन चालक दलका सदस्य थिए । घानाको सेनाले बताएअनुसार हेलिकप्टरले बिहान ९ः१२ बजे राजधानी आक्राबाट उडान भरेको थियो र सुन खानी भएको शहर ओबुआसीतर्फ जाँदै थियो, जहाँ एक राष्ट्रिय कार्यक्रम आयोजना हुने तय भएको थियो। यसै क्रममा अचानक सम्पर्क विच्छेद भयो ।
देशभर झण्डा आधा झुकाइने

राष्ट्रपति जोन महामाका प्रमुख कर्मचारी जुलियस डेब्राले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपति र सरकार यस दुखद दुर्घटनामा ज्यान गुमाउने हाम्रा सहकर्मीहरूको परिवारप्रति समवेदना व्यक्त गर्दछन् । अर्को सूचना नभएसम्म देशभर झण्डा आधा झुकाइनेछ ।’

घानाको सेनाका अनुसार बुधबार बिहान राजधानी आक्राबाट उडान भरेपछि हेलिकप्टर राडारबाट गायब भएको थियो। दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर