रिहाइको माग गर्दै रुपन्देही अदालतमा रवि लामिछानेको निवेदन

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रिहाइको माग गर्दै निवेदन दिएका छन् ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले गत सोमबार रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका हुन् ।

न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा पेसी तोकिएकोमा लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर बुधबारको पेसी स्थगित गरेका छन् । उनले सहकारी ठगीमा आफ्नो संलग्नता नरहे पनि तत्काललाई आफ्नो भागको बिगो बराबर जमानत लिएर रिहा गर्न माग गरेका छन् ।

रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा उनीसहितका प्रतिवादीहरूलाई एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ । त्यसमध्ये आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो बराबरको रकम बैंक जमानत राखेर आफूलाई रिहा गर्न उनले माग गरेका छन् ।

उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् । ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ । दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ ।

तपाईंको प्रतिक्रिया

थप खबर