मिडियाबाजी डटकम काठमाडौँ भाद्र २१ । नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यी समिति बनाएको छ ।
ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय लेखन समिति घोषणा गरेका हुन् ।
समितिका सदस्यहरूमा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरू उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल छन्।
समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजिविकाको चासोबारे महाधिवेशनको धारण तय गर्ने संयोजक भट्टराईले बताए।
शुक्रबार सुरु एमाले विधान महाधिवेशनको आज दोस्रो दिन हो। पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए।