मिडियाबाजी डटकम काठमाडौँ, साउन २१ । जन्मदिन मनाउने क्रममा मध्यरातसम्म हो–हल्ला गरेपछि गत विहीबार पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनविरुद्ध भक्तपुरस्थित जिल्ला प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको छ ।
२०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनामा उनको संलग्नता पुष्टि भएपछि मुद्दा चलाउने तयारी रहेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । अहिले अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी काठमाडौंबाट मुद्दा चलिरहेकाले उनी हाल भद्रकालीस्थित प्रहरी हिरासतमा छन् ।
भक्तपुर प्रहरी प्रवक्ता न्यौपानेका अनुसार, काठमाडौं प्रहरीको हिरासतमा रहेकै अवस्थामा उनको बयान लिने काम अगाडि बढेको छ । उक्त मुद्दा प्रहरी वृत्त, थिमीले अगाडि बढाउने भएको हो ।
थिमी प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानाका अनुसार एक वर्ष पुरानो मुद्दामा उनको वतन नखुलेका कारण वतन खुलाएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढ्ने छ ।
भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए । त्यसपछि चक्रे आर्फैले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए । भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो । सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो ।
उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो । जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो । तर, ठेगाना नखुल्दा प्रहरीले खवासलाई मात्र प्रतिवादी बनाएको थियो ।