मिडियाबाजी डटकम काठमाडौँ, साउन २१ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले २०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा एकल बहुमत मत ल्याउन केन्द्रित भएको बताएका छन्।
हाल माओवादी पार्टीका जनवर्गीय संगठन र विभिन्न मोर्चाहरु ‘असाधारण तरिकाले’ पार्टी निर्माणमा लागेकाले २०८४ सालमा माओवादी केन्द्रको मत बढ्ने उनले दाबी गरे ।
विगतमा स्थानीय तहको उपनिर्वाचन, स्ववियु निर्वाचन र नेपाल पत्रकार महासंघको निर्वाचनको नतिजालाई विश्लेषण सुनाउँदै उनले विगतको भन्दा माओवादी मत बढ्ने जिकिर गरे । जनताका मुद्दालाई फेरि पक्रन थालेकाले पनि माओवादीको पक्षमा मत बढ्ने उनको विश्वास छ ।
सापकोटाले भन, ‘स्थानीय तहको चुुनावमा हामी दोस्रो भयौं । पूर्वमा हाम्रो पार्टी पहिलो नै भयो । नयाँ युवा पुस्तामा अलिकति भ्रम, कन्फ्युजन जस्तो भएको थियो, त्यो साफ भएर स्ववियुमा दुई थरी कांग्रेस र एमाले मिलेर लड्दा पनि कतिपय ठाउँमा हाम्रो विद्यार्थी संगठनले विजयी हासिल गरेको छ ।’
उनले भने, ‘पूर्वाञ्चलको विराटनगरमा रहेको डिग्री क्याम्पसमा हाम्रो पार्टीले ३० वर्षयता पहिलो पटक जित्यो । नेपाल पत्रकार महासंघमा कांग्रेस–एमाले दुवैथरी मिल्दा पनि केन्द्रमा कोषाध्यक्ष लगायत विभिन्न प्रदेशमा हामीले धेरै राम्रो सफलता हासिल गरेका छौं । अन्य संघसंस्थाहरुमा पनि हाम्रो पार्टीले एक्लै लडेर पनि निकै राम्रो सफलता हासिल गरेको छ । अर्को कुरा हामीले फेरि जनताको मुद्दालाई पक्रन थालेका छौं ।’
विगतमा वर्गीय सम्बन्ध घनिष्ट नहुँदा पार्टीप्रति शहीद, वेपत्ता परिवारका गुनासाहरु, चित्त दुखाइहरुका कारण पार्टी केही कमजोर बनाएको स्वीकार गर्दै उनले भनेका छन्, ‘पार्टी रुपान्तरण शुद्धीकरणका लागि पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मसमीक्षा गरेर अगाडि बढेका छौं ।’
२०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले २०८४ सालमा एकल बहुमत हासिल गर्न समाजवादी क्रान्तिको रुपरेखा र मागचित्रलाई प्रष्ट पारेको उनले बताए । पार्टीले सञ्चालन गरेकोे हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए । माओवादी पार्टी केही समय रुमल्लिए जस्तो, अल्मलिएजस्तो देखिए पनि अब यसले गति लिएको उनको भनाइ छ । यसबाट जनसम्बन्ध सुदृढ भएको पनि उनले जिकिर गरे ।