मिडियाबाजी डटकम काठमाडौँ, असार २२ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । आइतबारको बैठकमा बोल्दै उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गर्ने र महाधिवेशनबाट सभापतिको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गरौं । महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,’ डा. रिजालले भने ।
आम निर्वाचन अगाडि महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तलसम्म गुटबन्दी नहुने रिजालले बताएका छन् । ‘महाधिवेशन प्रतिनिधिको मात्रै आम निर्वाचन अगाडि निर्वाचन भयो भने तल–तलसम्म गुटबन्दी हुँदैन भन्ने लाग्छ मलाई । त्यो बाटो नगर्ने हो भने हामीले पार्टीमा झगडा गर्दा–गर्दा पार्टीलाई आउने निर्वाचनमा नाश गर्छौँ,’ रिजालले भने । सभापति निर्वाचित भए पनि उनले कार्यकालको सुरुवात आम निर्वाचनपछि मात्रै गर्ने गरी विधान बनाउनु पर्ने रिजालले बताए । त्यसबेलासम्म सभापतिले पार्टी कस्तो बनाउने हो त्यसैअनुरुप विधान संशोधनको प्रस्ताव तयार गर्ने प्रस्ताव उनको छ ।