मिडियाबाजी डटकम काठमाडौँ, असार २२ । हुम्लाको चुवाखोलामा निर्माण भएको बेलिब्रिज पुलको उदघाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् ।
भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीसहित प्रधानमन्त्री सुर्खेतमा पुगेका हुन् ।
अहिले प्रधानमन्त्रीसहितका मन्त्रीहरु नेपाली सेनाको उत्तर पश्चिम पृतना हेड क्वार्टरमा बसेका छन् । मौसममा खराबी आएका कारण हुम्ला जान सकेका छैनन् । सुर्खेतमा पानी परिरहेका कारण उडान हुन सकेको छैन । मौसम सफा भएपछि प्रधानमन्त्री हुम्ला जाने सेनाले जानकारी दिएको छ । कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।