मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २३। सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ
कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्नुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरिएको हो। अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने मागसहित तरुण दलका नेता–कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् । मोटरसाइकल र्यालीसहित सानेपा पुगेर वर्तमान समितिलाई भंग गरेर नयाँ ल्याउनुपर्ने उनीहरूको माग छ। नयाँ कार्य समितिको मागसहित विरोधको नाराबाजीको नेतृत्व गर्नेमा सभापति शेरबहादुर देउवा पक्षका छन्।
विरोध र्यालीको नेतृत्व गर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरी लगायत छन्। तरुण दल अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेकाले उनलाई निरन्तरता दिन नहुने उनीहरूको भनाइ छ। फेरि अवधि थपिए पनि गुरुङले महाधिवेशन गराउन नसक्ने असन्तुष्ट तरुण दलका नेताहरूको दाबी छ । तरुण दलका अध्यक्ष गुरुङविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शन गर्नेहरूलाई केन्द्रीय कार्यालयमा प्रवेश नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ। केन्द्रीय कार्यालय प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोकेको छ।