मिडियाबाजी डटकम काठमाडौँ भाद्र २० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले सरकारले अभिव्यक्ति स्वतन्त्रता दबाउने, विरोधका स्वरलाई मुद्दा लगाएर थुन्ने र आफ्नालाई जोगाउने प्रवृत्तिलाई संस्थागत गर्दै आएको आरोप लगाए।
“संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ,” उनले लेखेका छन्, “यो कदम न केवल संविधानविरोधी, जनविरोधी र अलोकतान्त्रिक छ, यो सर्वोच्च अदालतको आदेशको समेत अपव्याख्या हो।”
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल बन्दको निर्णयले प्रवासी श्रमिक र परिवारबीचको सम्पर्कलाई समेत असहज बनाएको उल्लेख गरेका छन् । उनले स्पष्ट रूपमा सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमन को पक्षमा नेकपा माओवादी केन्द्र अडिग रहेको बताउँदै, संसदमा विचाराधीन विधेयकबारे सरोकारवालाको सहभागिता सुनिश्चित गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।