मिडियाबाजी डटकम काठमाडौँ भाद्र २० । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ।
तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन्।
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ जना सहभागी हुने जनाइएको छ।
महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ।
महाधिवेशनस्थल गोदावरी पार्टीको हसिया हथौंडा र चुनाव चिह्न सूर्यअंकित झन्डाले दुलहीझै सिँगारिएको छ। महाविधेशन उद्घाटनअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानबाहेकका ६ वटा प्रतिवेदन पारित गर्दै महाविधेवशनमा पेस गर्ने गर्ने निर्णय गरेको छ।
बैठकले अध्यक्ष ओलीको ‘राजनीतिक प्रतिवेदन’ र महासचिव शंकर पोखरेलको ‘संगठनात्मक प्रतिवेदन’ पारित गरेर हलमा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ।