मिडियाबाजी डटकम काठमाडौँ, साउन २० । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ को व्यवस्थामा भएको त्रुटि छानबिन गर्न गठित समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
समितिका सभापति नेपाली कांग्रेसका सांसद जीवन परियारले १०१ पृष्ठको प्रतिवेदन मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा आयोजित कार्यक्रमबीच सभामुख घिमिरेलाई बुझाएका हुन् ।
सभापति परियारले सर्वसम्मत रूपमा तयार पारिएको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइएको जानकारी दिए । ‘हामीले समितिको परिधिभित्र रहेर मसिनो गरी त्रुटि औंल्याएर तत् तत् क्षेत्रका व्यक्तिहरूलाई जिम्मेवार बनाउने गरी सर्वसम्मत रूपमा प्रतिवेदन दिएका छौं,’ उनले भने, ‘तर कतिपय सञ्चार माध्यमहरू र बाहिर यसबारे विभिन्न कुराहरू आएका रहेछन्, चरित्र हत्या गर्नेसम्मका घटना सुन्नुपर्दा दुःख लागेको छ ।’
कांग्रेस सांसद परियार सभापति रहेको समितिले संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।
निजामती कर्मचारीलाई राजीनामा वा अवकाशको दुई वर्षसम्म नियुक्ति नदिने गरी कुलिङ पिरियडमा व्यवस्था गरे पनि प्रतिनिधि सभाबाट पारित भएर आउँदा हेरफेर भएपछि छानबिन गर्न समिति गठन भएको थियो ।