मिडियाबाजी डटकम काठमाडौँ भाद्र १९ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा अनर्थ लाग्ने शब्दावली प्रयोग भएपछि नैतिक दागका कारण प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिएका कांग्रेस सांसद रामहरि खतिवडालाई उस्तै प्रकृतिको अर्को समितिको सभापति बनाइने भएको छ।
नेपाली कांग्रेसले भोलि हुने संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचनमा खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनको भागबण्डामा यो समितिको सभापति कांग्रेसको भागमा परेको हुनाले निर्वाचनमा खतिवडालाई एमालेलगायत सत्ता साझेदार दलका सांसदहरूले मतदान गर्ने अपेक्षित छ ।
डिसीनेपालसँगको संक्षिप्त कुराकानीमा खतिवडाले आफूले पनि पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी पाएको बताए । उनले पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने समेत बताए ।
खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने उद्देशयसहित नै केही दिन अघि मात्र उनलाई समितिको सदस्य बनाइएको थियो । १३ भदौमा बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले खतिवडालाई सुनुवाइ समितिको सदस्य नियुक्त गरिएको जानकारी गराएका थिए ।