खुल्यो कोरियन भाषा परीक्षाको आवेदन, कति छ कोटा ?

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन १९ ।  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।

ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।

उक्त क्षेत्रको भाषा परीक्षामा पाँच हजार ३०० कोटा तोकिएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा छ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । भाषा परीक्षाको उत्तीर्ण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्र्तिण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउने छन् ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबासगरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् । आवदेन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ । परीक्षा भने काठमाडौंमा हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर