वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २१।   गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए ।

भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ ।

सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगबाट आउन दिएको उनले जानकारी दिए । उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर