बिरानो बन्यो मेची पारिको नेपाल, पुल नहुँदा स्थानीय भारत निर्भर

  भदौ १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १८ ।   मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् ।

राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग डेढ सय बासिन्दा दिनदिनै उपभोग्य वस्तु किन्न भारतीय बजार धाउँछन् । बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ ।

आदिवासी समुदायका राजवंशी, सन्थाल, यादवलगायतको बसोबास रहेका यी तीन गाउँका नेपालीको जीविकाको मुख्य स्रोत खेतीपाती र पशुपालन हो । गाउँमा पढेलेखेका खासै मानिस छैनन् । नदीले भूगोल अलग्याएर मेची पारि पु¥याएपछि यहाँ राज्यको उपस्थितिको नाममा कक्षा दुईसम्म पठनपाठन हुने मेची आधारभूत विद्यालय मात्र छ, जहाँ नेपाली राष्ट्रिय झण्डा फहराइन्छ । विद्यालय लागेका बेला राष्ट्रिय गान गुञ्जिन्छ ।

नेपाल सरकारले भर्खरै पु¥याएको सुविधा भनेको विद्युत्को प्रशारण लाइन हो । त्यो पनि ट्रान्सफर्मरको अभावमा बेलुका टुकीले जस्तै धिपधिपे मात्र उज्यालो दिन्छ । अधिकांश बासिन्दाको जग्गाको धनीपुर्जा छैन । भारतीय निर्भरता बढेता पनि यहाँका बासिन्दालाई नेपालकै छुट्टै माया छ । “कतिपयको नागरिकता बनेको छैन, जग्गाको धनीपुर्जा पाएको छैन”, ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमुल यादव भन्छन्, “दशगजाको नेपाली पिलर रुङेर बसेका छौँ । नेपालले चाहिँ हामीलाई माया गरेन ।”

मेची पारिका नेपालीले वर्षौंदेखि वारिको नेपाली भूभागसँग जोडिनका लागि मेची नदीमा पुलको माग गर्दै आएका छन् । थोरै बासिन्दा भएकाले पक्की पुलको साटो झोलुंगे पुल बनाउन उनीहरुले भन्दै आएका छन् । झोलुंगे पुल बनेपछि दिनैपिच्छे उपभोग्य सामान किन्न भारतीय बजार धाउन नपर्ने उनीहरुको आशा छ । 

तपाईंको प्रतिक्रिया

थप खबर