बहुविवाहसम्बन्धी कानुनमा गलत अर्थ दिने शब्द भए संशोधन हुन्छ : मन्त्री चौरसिया

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन १८ ।   कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने प्रतिवद्धता जनाएका छन् ।

नेपाल महिला संघले आइतवार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको उनले स्पष्ट पारे । यसमा पुरुष वा महिला जोकोही दोषी पाइए उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको उनले बताए ।

मन्त्री चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून ल्याउन नलागेको स्पष्ट पारेका हुन् । उनले आफ्ना पनि घरमा छोरीहरू रहेको भन्दै महिलालाई गाह्रो हुने गरी कानून नबनाउने प्रतिवद्धता जनाए । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि उनले स्पष्ट पारे । कानुनको मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार भइनसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न आग्रह गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर