मिडियाबाजी डटकम काठमाडौँ, साउन १८ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ जारी छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा पहिलो नम्बरमै पेसी परेको छ ।
यो मुद्दामा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन् । तर मुद्दाको टुंगो आज पनि नलाग्ने भएको छ । यसअघि नै अन्तिम बकपत्र भनिए पनि आज पुनः बकपत्र गर्नुपर्ने भनिएसँगै यो मुद्दाको टुंगो नलाग्ने भएको रायमाझीका कानून व्यवसायीले जनाएका छन् ।
दुई वर्षपछि अदालतले यसको सुनुवाइलाई निरन्तरता दिन लागेको हो । आजै बकपत्र सकिए अर्को मंगलबारसम्म पेशी तोकिन सक्ने आंकलन गरिए पनि त्यसको टुंगो साँझसम्म लाग्ने जनाइएको छ ।