मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २० । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।