मिडियाबाजी डटकम काठमाडौँ भाद्र १७। अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् ।
अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोली (बुधबार) मा नेपाल ल्याउन लागेको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरकोको अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ नम्बरको जहाजबाट उनीहरूलाई नेपाल पठाउँदैछ ।
विमानस्थलमा अवतरण गरेपछि अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउनेछ। फर्काइएका व्यक्तिहरूसँग उनीहरू कसरी अमेरिका पुगे, कोमार्फत गए र दलालबाट ठगिएरनठगिएकोबारे सोधपुछ तथा परामर्श गरिनेछ।
प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये अवैध बाटोबाट अमेरिका पुगेकाहरुले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए । मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उनीहरुलाई उत्तरी अमेरिका लगेका थिए ।