मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १८ । यातायात व्यवसायीले भोलि (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार मजदुर र यातायात गरी नौ वटा संगठनको संयुक्त आयोजनामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो । विभिन्न ७ वटा मुख्य माग राखेर यातायात व्यवसायी र मजदुर संगठनहरू आन्दोलनमा उत्रिएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।