मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १८ । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ।
गीतकार तथा साहित्यकार समेत रहेका रसिकको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा आज (आइतबार) दिउँसो निधन भएको संगीतकार वसन्त मुकारुङले जानकारी दिए। मुकारुङका अनुसार रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिनेछ। अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ।
७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । उपचारकै क्रममा भारत समेत गएका थिए । क्यान्सर अन्तिम स्टेजमा पुगेको भन्दै डक्टरले उनलाई फिर्ता गरेको थियो । तर, नेपाल आएपछि उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गरेको बताउने गरेका थिए । भोजपुरमा जन्मिएका रसिकले नेपाली गीत, संगीत, साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।