मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्तरिक रोजगारको बृद्धि गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने आफ्नो मान्यता रहेको बताएका हुन्।
आफ्नै देशमा ज्ञान सिपको बिकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पुरा गर्नुपर्ने उनले बताए। उनले असंगठित श्रमिकहरुको पहिचान गरि पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको जनाए।