मिडियाबाजी डटकम काठमाडौं,चैत्र १७ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र छिचोलिने भएको छ । १३ किलोमिटर तीनसय मिटर लामो सुरुङको अब सातसय ९० मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । उनका अनुसार सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएमा एक महिनाभित्र छिचोलिनेछ ।
तराई मधेसमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्यकासाथ शुरु गरिएको आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुनकोशीको झण्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ ।