मिडियाबाजी डटकम काठमाडौं ,फागुन ११ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुम बाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।
अभियानअन्तर्गत काठमाडौं जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए ।
पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् । काठमाडौं महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् ।