मिडियाबाजी डटकम काठमाडौं ,फागुन ८ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक आपूर्ति धान्नका लागि भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली आयात भइरहेको जानकारी दिएको छ । सुख्खायामा नेपालको उत्पादन खुम्चने भएकाले बिजुली माग धान्नका लागि भारतबाट ५४५ मेगावाट बिजुली आयात भइरहेको हो ।
यति बेला नेपालमा सरदर बिजुलीको माग १३ सय ४४ मेगावाट छ । तर, यो माग धान्नेगरी आन्तरिक उत्पादन भइरहेको छैन । नेपालमा सबैजसो आयोजनाहरू नदी प्रवाहमा आधारित आरओआर छन् । यी आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ ।
प्राधिकरणका अनुसार १३ सय ४४ मेगावाट माग पूर्ति गर्नका लागि ५४५ मेगावाट बिजुली आयात भइरहेको हो । तथ्यांकअनुसार यति बेला स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट प्रबद्धन आयोजनाबाट ४४९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । जबकि, निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाको कूल जडित क्षमता २२ सय मेगावाटभन्दा धेरै पुगिसक्यो ।