अलविदा योगेश वैद्य !

  माघ ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ ५ । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ बर्षको उमेरमा निधन भयो । नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहनुहुन्थ्यो तर एक्कासी आएको ज्वरो र रुघाका कारण उहाँको शरीरले विश्राम लियो । उहाँ सँधैका लागि अलप हुनुभयो । तर शुभेच्छुकहरु योगेशको महाप्रस्थानपछि ‘सपनाभुलाई सारा आँसु लिएर जाउ’ गुनगुनाइ रहँदा स्तब्ध भएका छन् ।

सरकारी जागिरे जीवनसँगै गीत संगीतको भीडमा अलग्गै पहिचान बनाउनु भएका योगेशले २०४४ सालमै गाएको गीत ‘सपना भुलाई सारा’ साँच्चै कालजयी मानिन्छ ।

जसका कारण उहाँ सांगीतिक आकाशमा भिन्नै पहिचान बनाउन सफल हुनुभयो । साहित्यकार उषा शेरचन ‘सपना भुलाइ सारा’ सुनेर कहिल्यै नअघाउने कालजयी गीत भएको प्रतिक्रिया दिनुहुन्छ । आरआर क्याम्पसमा योगेशकी बहिनीसँगै पढेको जानकारी दिंदै शेरचनले सामाजिक संजालमा लेख्निुहुन्छ,‘ उहाँको निधन भएको अपत्यारिलो खबर पढेर झस्किएँ पनि र विश्वास गर्न गाह्रो पनि गाह्रो भयो । हुन त उहाँ शारीरिक हिसाबले बिसन्चो भएको त धेरै भइसकेको थियो । तर मानसिक हिसाबले भने तन्दुरुस्त हुनुहुन्थ्यो र सामाजिक सञ्जाल फेसबुकमा पनि निकै सक्रिय हुनुभएको कारणले पत्याउन गाह्रो पर्यो मलाई ।’

२०७७ सालको फागुनमा देब्रे खुट्टाको अप्रेसन गर्नु पर्दा करिब तीन महिना अस्पताल बस्नु भएका योगेश पछिल्लो समय स्टुडियोमा पुगेर गीत गाउन सक्ने अवस्थामा हुनुहुन्नथियो । तर संगीत भर्न र गीत लेख्न भने व्यस्त हुनुहुन्थ्यो । नेपालमा कोरोनाको महामारी देखिनुअघि एउटा गीति संग्रह समेत बजारमा ल्याउनु भएका गायक वैद्यको आफ्नो स्वरमा अर्को गीति संग्रह ल्याउने योजना भने अधुरै रहयो ।

गीतकार भुपेन्द्र खड्का योगेशलाई मार्मिक रुपमा स्मरण गर्दै लेख्नुहुन्छ,‘७६ वर्षको उमेरमा पनि खल्तीबाट काइँयो निकालेर कपाल कोर्ने दाइ पाउने छैन । राजसी शैलीमा बाँच्नुपर्छ भन्ने प्रेरणा पाउने छैन । त्यो फरक र मखमली आवाजको सम्बोधन सुन्न पाउने छैन । तर हृदयको नादबाट गुन्जिएका ती गीतहरूले मलाई भुल्न दिने छैनन् । सपना भुलाई सारा, आँखैमा रात गली, नेपाल मेरो । अलविदा योगेश वैद्य ’

तपाईंको प्रतिक्रिया

थप खबर