वीरबहादुर : जसले महिलालाई भारत लगेर १६ हजारमा बेचे, ३२ वर्षपछि परे पक्राउ

  माघ ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ ५ ।  मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । धादिङको मेत्रावती गाउँपालिका–२ का ५७ वर्षीय वीरबहादुर तामाङलाई मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो । उनले पीडित महिलालाई ब्रुनाई पठाइ दिने भनी झुक्याएर २०४७ चैत ३ गते काठमाडौँबाट पश्चिम बंगालको बागडोग्रा भन्ने ठाउँमा पुर्‍याइ भारतीय नागरिकलाई बेचबिखन गरेको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले जानकारी दिए ।

पीडितको श्रीमान रोजगारीका लागि ब्रुनाईमा रहेका बेला ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याई दिनु भनि मलाई चिठी पठाएको छ’ भनेर झुक्याइ काठमाडौँबाट काकरभिट्टा हुँदै पश्चिम बंगालस्थित एक जना भारतीयलाई बेचेको पाइएको उनले बताए । तामाङले ती महिलालाई १० हजार भारु १६ हजार नेपाली रुपैंयाँ मा बेचेको खुल्न आएको छ । तामाङले पीडित महिलालाई अपरिचित व्यक्तिको घरमा पुर्‍याएर आफू भोलि आउँछु भन्दै छाडेर गएका थिए ।

तर ती भारतीय नागरिकले रिक्सामा राखेर अर्कै ठाउँमा लैजाने क्रममा पीडित महिला हाम फालेर भाग्न सफल भएकी थिइन् । उनी भागेर भारतीय प्रहरीकोमा पुगेकी थिइन् । भारतीय प्रहरीले काकरभिट्टा ल्याएर छोडिदिएको थियो । उक्त घटनापछि लुकिछिपी बस्दै आएका तामाङलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो । उनलाई बुधबार ललितपुर महानगरपालिका–१४ मा पर्ने तिखेदेवलमा फेला पारेर पक्राउ गरेको ब्युरोले जनाएको छ । घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजतलास भइरहेको ब्युरोले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर