मिडियाबाजी डटकम काठमाडौं, भाद्र ११ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा आज सहमति भएको छ ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् । यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी दुई सय २१ जना फरार भएका थिए ।
पटक पटकको छलफलसँगै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुंगिएको हो। शवपरीक्षण गरी सदगद गर्ने सहमति भएको भक्तपुरका प्रजिअ रिजालले जानकारी दिए ।