जग्गाको कित्ताकाट खुला गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

  बैशाख १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ५ गते मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको महासंघको टोलीसँग भएको भेटमा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विगतमा भएको व्यवस्थाअनुसार नै जग्गा कित्ताकाट गर्ने गरी व्यवस्था गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको महासंका सचिव रामसुन्दर बकेंले जानकारी दिए । उनले मुख्य सचिवमार्फत भूमि सुधार मन्त्रालयका सचिवलाई सरकारको निर्णय कार्यान्वयन गर्न गराउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था सुधारका लागि घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक रहेको बताउँदै सरकारको निर्णयलाई राजपत्रमा प्रकाशित गरी तत्कालै कार्यान्वयनमा ल्याउने बताएका हुन् । महासंघका अध्यक्ष लोहनीले सुझाव पत्र बुझाउँदै घरजग्गा कारोबारबाट मात्र नेपाल सरकारले वार्षिक ८५ अर्ब रुपैयाँ राजस्व संकलन गर्दै आएको र घरजग्गा व्यवसायीबाट मात्रै १२ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेकोमा कारोबार सुस्ताउँदा राजस्वमा गम्भीर असर परेको बताएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर