मिडियाबाजी डटकम काठमाडौं, चैत्र ५ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नतिजा आउने क्रम शुरु भएको छ। खोटाङ, कन्चनपुर र दोलखालगायत केही जिल्लाका नतिजा आइसकेको छ ।
आइतबार भएको मतदान सकिएलगत्तै दोलखाको जिरी क्याम्पसमा भएको मतगणनामा २ मतको अन्तरले एमालेनिकट अनेरास्वयुकी ज्योति खड्का सभापतिमा निर्वाचित भएकी छन् । उनले २३ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार विनोद बस्नेतले २१ मत पाए।
त्यस्तै सचिवमा भने गठबन्धनका लीला जिरेल २३ मत पाएर विजयी भए। कोषाध्यक्ष अनेरास्वयुकै लक्ष्मी कार्की र सदस्यहरूमा अखिलकै आकृति खड्का,कुशल कार्की र सरोजकुमार जिरेल निर्वाचित भएका छन्।
खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमालेनिकट अनेरास्ववियु प्यानलै विजयी भएको छ। साकेला गाउँपालिका रतन्छा खोटाङमा रहेको सो क्याम्पसको स्ववियु सभापतिमा यामकुमार खड्का विजयी भएका छन्। यस्तै सचिवमा रमिता फुयाँल, कोषाध्यक्षमा सरला राई, सदस्यमा रिता खड्का कविता दुलाल र उमा विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताए।
यता कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ। १५ मतसहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय भएकी हुन। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार धानिराम चौधरीले ५ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी विमला रेग्मीले ४ मत पाइन्।