मिडियाबाजी डटकम काठमाडौं,आश्विन ३० । भदौ महिनाको वित्तीय स्थितिले चालू खाता २३ अर्ब ५० करोडले बचतमा रहेको देखाएको छ। त्यस्तै १०।३ महिना आयात धान्न सक्ने अवस्थामा आर्थिक स्थिति रहेको राष्ष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आयात गत वर्षको सोही अवधिको तुलनामा ५।१ प्रतिशत र निर्यात ७।८ प्रतिशतले बढेकाले चालुखाता बचतमा देखिएको उल्लेख गरेको छ ।
गत आर्थिक वर्षको समीक्षा अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा थियो। चालु खातामा देखिएको बचतसँगै मुलुक शोधनान्तर स्थिति पनि ५३ अर्ब ६१ करोडले बचतमा देखिएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा चालुखाता २० अर्ब ८१ करोडले घाटामा थियो । चालुखाता र शोधनान्तरस्थिति बचतमा भएकाले विदेशी मुद्रा सञ्चितिले १०।३ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा नेपालसँग १२ अर्ब १ करोड डलर विदेशी मुद्राको सञ्चिति रहेको छ । विदेशी मुद्राको सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा नेपाली मुद्रामा ३।९ प्रतिशत र डलरमा २।६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।