मिडियाबाजी डटकम काठमाडौं,चैत २। कोशी प्रदेशमा नयाँ सरकार गठनको हल्ला चलिरहेको बेला माओवादी केन्द्र र नेपाली कांग्रेसबीचमा चर्को विवाद सिर्जना भएको छ ।
कांग्रेसले केन्द्रमा भएको गठबन्धनको आधारमा तत्काल सरकारबाट माओवादीले समर्थन फिर्ता लिनुपर्ने बताउन थालेको छ । तर, माओवादी केन्द्र र जसपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाएका छन् ।नयाँ सत्ता गठबन्धन कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाबीचमै कार्की नेतृत्वको गठबन्धन ढाल्ने वा नढाल्ने भन्ने विषयमा विवाद सिर्जना भएको छ ।
हाल सरकारलाई माओवादीसहित राप्रपा र जसपाले समर्थन गरेका छन् । प्रदेश सरकार ढल्नका लागि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिनुपर्छ । समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । समर्थन फिर्ता नलिएको खण्डमा मुख्यमन्त्री हिक्मत कार्कीले ढुक्कका साथ सरकार सञ्चालन गर्न पाउनेछन् ।