नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि, सुरक्षित रहन आग्रह

  श्रावण २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २९ ।   नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो ।

विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ । देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ ।

नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ । रासस

तपाईंको प्रतिक्रिया

थप खबर