मिडियाबाजी डटकम काठमाडौं, मंसिर २५ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल ७ वर्ष मात्रै हुनुपर्ने भनी अघि सारेको प्रस्तावबारे छलफल गर्न एक समिति बनाउने भएको छ ।
नेपाल बार एशोसिएसनको ४९ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदावधिका बकारेमा अध्ययन गर्न समिति बनाउन नेपाल बार एशोसिएसनको कार्यसमितिलाई निर्देशन दिएको हो ।
कार्यकारिणी परिषदले उक्त अध्ययन प्रतिवेदन आगामी राष्ट्रिय समितिमा पेश गर्न पनि कार्यसमितिलाई निर्देशन दिएको छ । गत १२ असोजमा सुर्खेतमा सम्पन्न नेपाल बार एशोसिएसनको वार्षिक साधारणसभाले सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल ७ वर्ष बनाउनुपर्ने प्रस्ताव अघि सारेको थियो ।
त्यही प्रस्तावमाथि कार्यकारिणी परिषदमा व्यापक छलफल भए पनि कुनै निर्णय भएन । हाल सर्वोच्च अदालतका न्यायाधीशको पदावधि तोकिएको छैन । ६५ वर्ष उमेर हद रहेकाले उमेर रहँदासम्म पदमा बहाल रहन्छन् । प्रधानन्यायाधीशको पदावधि भने ६ वर्ष तोकिएको छ ।