सातै प्रदेशले पायो मुख्यमन्त्री, कुन प्रदेशमा को मुख्यमन्त्री ?

  पुष २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २८ । देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएको छ । बुधबार चार मुख्यमन्त्रीहरू नियुक्त भएका छन् भने यसअघि नै ३ प्रदेशका मुख्यमन्त्रीले सपथ लिइसकेको छन् । सात दलीय गठबन्धनले केन्द्रमा सरकार बनाएसँगै प्रदेशमाम पनि मुख्यमन्त्रीको भागबन्डा गरिएको थियो ।

सात मध्ये चारमा एमाले, दुईमा माओवादी र एकमा जसपा छन् । एमालेले प्रदेश १, गण्डक प्रदेश, लुम्बिनी र सुदुरपश्चिम पाएको छ भने माओवादीले बागमति र कर्णाली तथा जसपाले मधेश प्रदेशको नेतृत्व पाएको छ ।

कुन प्रदेशमा कुन दलको मुख्यमन्त्री ?

प्रदेश(१ नेकपा एमालेका  हिक्मत कार्की
प्रदेश(१ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेका छन् । उनी गत आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेशसभा सदस्यको समर्थन छ ।

मधेश प्रदेशः जसपाका सरोजकुमार यादव 
मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले (बुधबार) मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहको समेत उनलाई समर्थन छ । उनले आगामी शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

बागमती प्रदेशः माओवादी केन्द्रका शालिकराम जमकट्टेल

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र बागमतीका संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् । जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

१ सय १० सदस्यीय रहेको बागमती प्रदेशमा उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्री जमकट्टेलले माघ ३ गते विश्वासको मत लिँदैछन् ।

गण्डकीः नेकपा एमालेका खगराज अधिकारी
नेकपा एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका छन् । एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले समेत समर्थन जनाएका छन् । उनले शुक्रबार विश्वासको मत लिँदैछन् ।

लुम्बिनीः नेकपा एमालेका  लीला गिरी
लुम्बिनीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका छन् । उनलाई ५८ प्रदेशसभा सदस्यको समर्थन छ । एमालेका २९, माओवादी केन्द्रका १०, (राप्रपा) र नाउपाका चार÷चार, जसपा, लोसपा र जनमत पार्टीका तीनरतीन र दुई स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

कर्णाली प्रदेशः माओवादी केन्द्रका राजकुमार शर्मा
कर्णालीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्मालाई माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राप्रपका एक÷एक जना प्रदेश सांसदले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुईरदुई वर्ष गर्ने सहमति भएको छ ।

सुदूरपश्चिमः एमालेका राजेन्द्रसिंह रावल
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका छन् । एमालेका १०, माओवादी केन्द्रका ११, नाउपाका सात र राप्रपाको एक गरी २९ जना सांसदको समर्थन पाएका रावललाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर