मिडियाबाजी डटकम काठमाडौं,पौष २७ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका छन् । त्यसका लागि प्रदेश सरकारका मुख्य सचिवको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पाँच सदस्यीय कार्यदल बनाइएको छ। हाल बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ छ ।
‘मन्त्रालय र मन्त्रीहरूका संख्या घटाएर सरकारको खर्च भार घटाउने र सुशासन र समृद्धिको दिशामा अघि बढ्ने मेरो लक्ष्य छ’, मुख्यमन्त्री जम्कट्टेलले भने। मुख्यमन्त्री जम्कट्टेलले पुस मसान्तभित्र संघीय सरकारमा पठाउनुपर्ने विशेष र समपूरक आयोजनाको विवरण पठाउने दोस्रो निर्णय गरेका छन्। पाँच दलको समर्थनमा जम्कट्टेल बागमतीको चौथो मुख्यमन्त्री बनेका हुुन् । उनलाई एमालेका ३७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्यको समर्थन छ। ११० सिट रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ ।