मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । मौसम पूर्वानुमान महाशाखाले हाल तराईका अधिकांश भू–भागमा हुस्सुरकुहिरो र शीतलहर जारी रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको छ ।
शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो । पाँच दिनयता तराईमा घाम नलाग्ने, चिसो बढेसँगै शीतलहर चल्ने क्रम जारी छ । हिमालमा हिमपात र पहाडमा हुस्सु, कुहिरोको चाप बढ्दो छ । तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।