महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ

  मङि्सर १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १९ ।  मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा बाँकेकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल पक्राउ परेकी छन् । सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगि बेचबिखन गरेको उजुरीको आधारमा उनी पक्राउ परेकी हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा उक्त कार्यमा संलग्न मुना कुमारीलाई बाँके नेपालगंजबाट पक्राउ गरेको हो । मुना कुमारीले भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको, आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरूलाई टार्गेट बनाउने गरेको तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिकासहित दुई जना युवतीलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीका अनुसार उनी उपर काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर