मिडियाबाजी डटकम काठमाडौं,पौष २१ । सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । विहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरु सरुवा गरेको हो । अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।
राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । गृह प्रशासनमा रहेर अख्तियारको महाशाखा प्रमुख भइसकेका उनलाई अख्तियारकै पदाधिकारीको रोजाइमा सरुवा गरिएको स्रोतले बतायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका कानून सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक सचिवले बताए ।
मन्त्रिपरिषदले वाणिज्य मन्त्रालयका सचिव तोयम रायालाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । हाल अख्तियारमा रहेका सचिव डा। रामप्रसाद घिमिरेलाई राजस्व सचिव बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्यमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।